प्रधानमन्त्रीले डीडीसीको याक चीजसँग फोटो खिचाएपछि यसको व्यापार त बढ्यो। तर, अब यो प्रचारबाजीले दूध उत्पादक कृषकको बक्यौता भुक्तानी र डीडीसीको वास्तविक उत्थान गरोस्, जुन सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
प्रधानमन्त्रीले गोल्डस्टार जुत्ता र अपि हिमाल बेसक्याम्पको प्रचार गरिदिनुभयो। कम्पनीले "गोल्डस्टार लगाएर अपि हिमाल जाऔँ" भनी विज्ञापन नै गर्यो। दुवै स्थानीय उत्पादन भएकाले सुदूरपश्चिमको पर्यटन र स्वदेशी उद्योग दुवैलाई राम्रो भयो।
बिदाको दिन प्रधानमन्त्रीले मन्त्रीहरूसँग चिया खाएको फोटो आयो। त्यसले चिया पसल, नेपाली चिया र 'देश बनाउने टोली' को राम्रै प्रचार गर्यो। तर, विडम्बना! त्यही दिन भारततर्फ निकासी रोकिँदा नेपालका ८३ वटा चिया उद्योग बन्द भए। प्रचार हुनु राम्रो हो, तर देशकै उद्योग बन्द भएको विषय भने दुःखद र गम्भीर छ।
प्रधानमन्त्रीको व्यक्तिगत ब्रान्डिङ र प्रचारले स्थानीय उत्पादनलाई केही राहत त दिएको छ, तर नीतिगत र वैदेशिक व्यापारका गम्भीर समस्या समाधान नभएसम्म उद्योग, उद्यमी र कृषकको अवस्था बदलिँदैन, बदलिन्छ त केबल सरकार र प्रधानमन्त्री निकटहरूको व्यापार व्यवसाय।