विश्वनाथ उपाध्याय भन्नुहुन्थ्यो, `न्यायाधीश इजलासमा मात्रै प्रश्न गर्थे, फैसला/आदेशबाट मात्रै बोल्नुपर्छ।´ उहाँको फैसलाविरूद्ध त्यसबेलाको प्रमुख प्रतिपक्षी दल एमालेले सडक आन्दोलन गर्यो, उहाँको पुत्ला जलायो तर पनि मौनता तोड्नुभएन।
अवकाश भएको झण्डै आठ वर्षपछि राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन कालमा उहाँको निवास पुग्नुभएका तत्कालीन एमाले महासचिव माधव नेपाललाई विनम्र स्वरमा भन्नुभएको थियोे, `तपाईंलाई मेरो सुझाव के काम ? मेरो पुत्ला जलाउनुस् न ।´ भलै नेपाल उपाध्याय अध्यक्ष रहेको ०४७ सालको संविधान सुझाव आयोगका सदस्य हुनुहुन्थ्यो।
विश्वनाथजीले आफैले मलाई हाँस्दै सुनाउनु भएको थियोे, यो प्रसंग । त्यस दिन कुराकानी नै नगरी फर्काएपछि नेपाल भोलिपल्ट फेरि वामदेव गौतमसहित ज्ञानेश्वर पुग्नुभएको थियो।
०५२ भदौ १२को संसद पुनःस्थापनाको मुद्दामा एमालेकाे विरोधपछि उहाँ साँच्चै आहत हुनुभएको थियोे तर उपाध्याय न कुनै सार्वजनिक मञ्चमा अमूक पार्टीविरूद्ध सार्वजनिक रूपमा बोल्नुभयो न त इजलासबाट देखाइदिन्छु भन्नुभयो । न त अदालत हडताल नै गर्नुभयो । अर्थात्, अरूले उहाँविरूद्ध जेसुकै गरे पनि उहाँले धर्म छाड्नु भएन। कारण, उहाँ नेपालमा कानूनी शासनको जग बसाल्न सबैभन्दा बढी योगदान भएकामध्ये एक हुनुहुन्थ्यो ।
विश्वनाथजीलाई फैसलाको कारण एमालेले पुत्ला जलाएको विषय यति बिझेको थियोे कि ०५९ मंसिरमा शेरबहादुर देउवाले संसद् विघटन गरेपछि सुरू भएको `शाही शासन´का बेला मसँग हास्दै भन्नुभएको थियोे, `अब त मान्लान् नि मेरो त्यो फैसला। तपाईंको द्विविधा पनि मेटियो होला नि अब !´
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशमा अहिले देखिएको राजनीतिक आकांक्षा, आक्रोशको अभिव्यक्ति अनि गुट-उपगुट देख्दा सेतै फुलेका, उज्यालो मुहारका अति भद्र विश्वनाथजीको याद आउँछ ।
अहिले त श्रीमानले आफैं `तिम्रो दुईतिहाई बहुमतसँग डराउँदिन, फैसला/आदेशबाट ठीक पार्छु, महाभियोगसँग डराउँदिनँ´भनेर सडकमा भाषणै ठोक्न थाले बा ! के भएको यो ? हामीले ३५ वर्षसम्म समर्थन गरेर सत्तामा चढाएका नेताले कस्ता मान्छेलाई सर्वोच्च अदालत पुर्याएछन् ? ताजुब लाग्छ । न्यायाधीश पनि अदालत हड्ताली, पार्टीपिच्छेका, सत्तापक्ष/प्रतिपक्षका !?
[- लामो समय न्यायालय सम्बन्धी अनुभवप्राप्त पत्रकार
@MadhavDhungel ]