जब मूलधारको मिडिया नै फन्डिङ्गको पैसामा कुद्न थाल्यो !
अहिले युएसएआइडीबाट रकम कसले बुझे र कसले बुझेनन् भन्नेमा ठूलो माथापच्ची भइरहेको छ । सामाजिक सञ्जाल र आम जनचर्चामा यो विषयले प्रमुखता पाएको छ । युएसएआइडी सहितका दातृ निकायबाट पैसा थाप्नेमा अरु त अरु यो देशको मूलधारे मीडियाका हर्ताकर्ता नै रहेको थाहा हुनु राष्ट्रिय दुर्भाग्य हो । मूलधारको सबै मीडिया नै बिटुलिएको छ भन्न त मिल्दैन । तर समाजमा प्रखर सञ्चारकर्मीको छवि बनाएका र अग्रणी छापा, अलनाइन र प्रसारण मीडियाको रुपमा ख्याति कमाएका संस्थासमेत यस्तो अनुदानबाट पालितपोषित भएको देखिनु स्वतन्त्र विचारको भ्रुणहत्या हो, समाचारको व्यवसायीकरण हो ।
त्यसो त मूलधारको मीडियामा कन्जरभेटिभ न्यूज आउटलेट खासै देखिँदैनन् । पत्रकार भनेपछि जन्मसिद्ध रुपमा लेफ्ट लिबरल हुनुपर्छ र परम्परागत विचार बोक्नेहरुका लागि सञ्चारकर्म थलो होइन भन्ने शुरुमै स्थापित गरियो । यसैलाई आधुनिकता र सभ्यताको पगरी गुथाइयो । यदि युट्युबजस्तो वैकल्पिक प्लेटफर्म हुन्थेन भने कथाको अर्को अंश वा सिक्काको अर्को पाटो हामीले कहिल्यै थाहा पाउने थिएनौं ।
करिब ५ वर्षअघिदेखि देशमा युट्युब पत्रकारिताको उदय भएपछिमात्र दर्शक वा श्रोताहरुले वैकल्पिक संकथन वा भाष्यको स्वाद चाख्न पाएका हुन् । नत्र जति नै चित्त नबुझे पनि मूलधारका मीडियाले सम्प्रेषण गर्ने समाचार, लेख्ने सम्पादकीय वा त्यसमा समेटिने लेखहरुबाटै पाठकहरुले बुद्धिविमर्श गर्नुपर्ने बाध्यता थियो । गर्भमा रहेका कुरा वा दबाइएका तथ्य थाहा पाउने अवस्था नै थिएन ।
म यस्ता कुराबाट धेरै पहिलेदेखि नै विस्मित हुन्थें। मैले विभिन्न पुर, खरी र पाटीमा पठाएका लेखहरु तिनका सम्पादकीय नीतिविरुद्ध रहेको र दक्षिणपन्थी गन्ध आएको भनेर होल्ड गरिए, छापिएनन् । पछि फेसबुक र एक्समा सक्रिय हुन थालेपछि आफ्ना कुरा पु-याउन तिनको सहारा चाहिएन । त्यसपछि तिनको खोजी पनि गरिएन । होइन भने त म र मजस्ता अरु धेरैका वैकल्पिक विचारलाई सेन्सर र ब्ल्याकआउट गर्न तिनले कुनै कसर बाँकी रहेका थिएनन् । तर सामाजिक सन्जालको उदयपछि तिनीहरु नै अहिले असान्दर्भिक भए । कुनै बेला तिनमा छापिएका समाचारले सरकार ढाल्ने हैसियत राख्थे । अब धेरैले पढ्दैनन्, पढे पनि हाँसोमा उडाइदिन्छन् ।
यो अवस्था आउनको लागि तिनीहरु स्वयं जिम्मेवार छन् जसले समाचार र विचारप्रवाहलाई लेफ्ट लिबरलको बपौती बनाए । यो चक्करमा, आफूलाई पर्ने सत्यलाई मात्र सम्प्रेषित गरिरहे, आफूलाई प्रतिकूल हुने सत्यलाई जहिले पनि छोपिरहे । आफ्नै टोल छिमेकमा भएको वा आफैंले देखेको घटनालाई पनि धरातलीय यथार्थभन्दा नितान्त फरक रिपोर्टिङ्ग गरिएको देख्दा म छक्क पर्थें । तर त्यसको प्रतिवाद गर्ने मञ्च उनीहरुले खोसिसकेका हुन्थे ।
यसबाट हाम्रो समाज र शासन गलत बाटोमा डोरियो । कल्पना गर्नुहोस् बिहान उठ्दासाथ कुनै शासक, प्रशासक, सांसद, मन्त्री, बुद्धिजीवि वा न्यायाधीशले एकपक्षीय र आंशिकमात्र सत्यमात्र समाचार पढ्छ, त्यस्ता विचार पढेरमात्र दिनको शुरुवात गर्छ, अनि यो काम वर्षौंवर्ष चलिरहन्छ भने त्यसपछि देशमा कस्ता नीति बन्लान्, कस्ता कानुन बन्लान् र कस्ता फैसला आउलान्? सजिलै अनुमान गर्न सकिन्छ कि नीति, कानुन र फैसला पनि समाज निरपेक्ष नै आउँछन् जुन धरातलीय यथार्थभन्दा कोशौं टाढा हुन्छन् । अनि तिनले आजका जीवन्त समस्या कसरी हल गर्छन् ?
यसबाहेक विभिन्न स्वार्थ समूहको उदय, विधिनिर्माणमा गैरसरकारी संस्था र दातृ समूहको हस्तक्षेप, समाज व्यवस्थाको विघटन र समाजको थोक दलालीकरणजस्ता विकृतिको लागि पनि यस्ता पक्षपाती समाचार र विचार निर्माणको डरलाग्दो हात रहेको छ ।
मूलधारको मीडियामध्ये कतिपयले प्रत्यक्ष विदेशी फन्ड खाएर त कतिले त्यस्तो फाइदा नलिए पनि लहरको पछि लागेर वा मिसगाइडेड भएर अर्बन नक्सल जन्माउन र एउटा अराजक, अटेरी र अनैतिक पुस्ता तयार गर्नमा सहयोगी भूमिका खेल्न पुगे । ती सबैको पोल अहिले एकपछि अर्को खुलिरहेको छ । समाजमा हुने परिघटनाबाट उद्वेलित भएर, चिन्तित भएर होइन कि, टाढाको फन्डमा आँखा लगाएर यस्ता समचार र विचार पेलिएका रैछन भन्नलाई अब दकस मान्नु पर्दैन ।
यो भनेको देश र जनतामाथि गरिएको ठूलो गद्दारी हो, घात हो । परम्परावादी र मौलिक मूल्यमान्यताको नसबन्दी गर्न र अहिले पश्चिममा समेत घाँडो बनिरहेका हानिकारक विकृति र दुराभ्यास भित्राउनमा यस्ता मीडियाको योगदान अब लुकाएर पनि लुकेन ।
जब दशैं आउन थाल्छ, तब यति चामल खेर जान्छ भनेर प्रचार गर्नु, जब स्वस्थानी व्रतकथा आउन थाल्छ, तब यो सबै प्रतिगामी छ, अन्यायकारी छ भनेर कुर्लिनु, भ्यालेन्टाइन डे का बारेमा एक महिनाअघिदेखि नै कभरेज हुनु र त्यसको आडमा नास्तिकता र धर्मान्तरणलाई जस्केलाबाट छिराउनमा मूलधारको मीडियाको मतियारी अब कसैबाट छिपेन । अब छिनोफानो र निर्णय गर्ने जिम्मा जनताकै ।