हरेक काण्डको छानबिन गरियोस् !
सरकारले हाम्रा दुःख हरण गरिदिन मद्दत गरिदिए एमालेजनहरु आभारी हुने थिए । हामीले केही लेख्ने–बोल्नेबित्तिकै ‘हामीले पनि देखेका छौँ तिम्रा काण्ड– गिरीबन्धु, यति, ओम्नी, वाइडबडी, नक्कली भुटानी शरणार्थी काण्ड....‘ आदि भन्दै हुर्मत लिने गरिन्छ । सत्ताधारी मित्रहरु र तिनका समर्थकहरुबाट गालीको ओइरो लाग्ने गर्दछ ।
सत्ताधारी मित्रहरु ! सत्ता तपार्ईकै हातमा छ, संयन्त्र तपाईंहरुकै हातमा छन्, दबदवा तपाईंहरुकै छ । कृपया यी सबै काण्ड एकएक गरी छानबिन गर्नूस् । दूधको दूध पानीको पानी छुट्याउनूस् । कुनै एकजना एमालेको मान्छे त्यसमा परेछ भने सिंगो एमाले पार्टी सती जाने छैन ।
हामी विल्कुल असंलग्न, त्यस्ता क्रियाकलापका विरोधी र विशुद्ध पार्टी कार्यकर्ताहरुलाई परिरहेको यो मर्का कसले बुझिदिने ?
या त छानबिन गरेर दोषी देखिए कारवाहीको दायरामा ल्याउनूस् । होइन भने गोश्वारा आरोप लगाएर राजनीतिको रोटी सेकाउने काम बन्द गर्नूस् ।